रेविज लागेको वाख्राको मासु खाए पछी सींगो गाउँ नै आतंकीत

My गण्डकी
My गण्डकी १३ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

नेपालगन्जः बाँकेको कोहलपुरमा रेविज रोग लागेको बाख्रो मारेर मासु खाँदा एउटा गाउँनै आतंकित भएको छ ।

कोहलपुर नगरपालिका–१३ भरैयाका स्थानीयले रेविज लागेको बाख्रो मारेर खाएका थिए ।

भरैया गाउँ पुगेर फर्कनुभएकी पूर्वमन्त्री आरती पौडेलले दिएको जानकारी अनुसार विहीबार उनीहरुले रेविज रोग लागेको बाख्रा मारेर मासु खाएका थिए । उक्त बाख्राको मासु ३०–३५ जनाले खाएको खुलेको छ ।

पूर्वमन्त्री पौडेलले पशु सेवा कार्यालयका कर्मचारीलाई उध्रृत गर्दै दिएको जानकारी अनुसार विहीबार उक्त बाख्रालाई खोप लगाउन पशु स्वास्थ्य शाखा कोहलपुरमा लगिएको थियो ।

तर कर्मचारीले रेविज फैलिसकेकाले खोप लगाउनु भन्दा बाख्रालाई मारेर गाड्न सुझाव दिए । बाख्राधनीले बाख्र्रा मार्नुको साटो भरैयाको जंगलमा लगेर छाडे ।

जंगलमा छाडिएको उक्त बाख्रो भरैयाँ गाउँका बाख्रासँग मिसिएर गाउँमा पस्यो । उक्त बाख्रोले मान्छेलाई टोक्ने गर्न थालेपछि स्थानीयले मारे ।

र, साँझ बाँडचुड गरेर मासु खाए । मासु भागबन्डा गर्नेक्रममा बचेको हाडहड्डी गाउँका कुकुरलाई बाँडिदिए । गाउँलेले बाख्रो मारेर मासु खाएको कुरा पशु स्वास्थ्य शाखाका कर्मचारी विच फैलिएपछि घटना सार्वजनिक भएको हो ।

बाख्राधनीको पहिचान हुन सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको पुष्टि गर्दै स्वास्थ्यकर्मीको टोली खटाइसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्